बक्स अफिस कलेक्सन २ करोड बढी

काठमाडौं,२६ भदौ ।
नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ ।
भदौ १७ गतेदेखि प्रदर्शनमा आएको ज्ञानेन्द्र देउजा निर्देशीत फिल्म झिँगे दाउ दोस्रो हप्तामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ ।

फिल्मले शुक्रबार र शनिबारको व्यापार समेत जोडेर २ करोड माथिको कारोबार गरेको छ । योसँगै जेठ दोस्रो हप्ता प्रदर्शनमा आएको कबड्डी ४ पछि झिँगे दाउ सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्न सफल भएको छ ।

निर्माण टोलीका अनुसार पहिलो हप्ता डेढ करोडमाथिको कारोबार गरेको फिल्मले ९ दिनमा २ करोडको आँकडा पार गरेको हो ।

कबड्डी ४ पछि कुनै पनि नेपाली फिल्मले सन्तोषजनक व्यापार गर्न सकेका थिएनन् । अब असोज पहिलो हप्तासम्म कुनै पनि फिल्म प्रदर्शनको तयारीमा नरहेकाले झिँगे दाउको बक्स अफिस कलेक्सन अझै बढ्ने सम्भावना रहेको छ ।

भीमनिधि तिवारीको कथामा आधारित फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
पारिवारिक कथामा आधारित फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि दर्शकमा लगातार वृद्धि आएको हो ।
शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित बलिउड फिल्म ब्रह्मास्त्रले पनि फिल्मलाई खासै असर गरेको छैन ।

देउजा झिँगेदाउमार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
फिल्ममा हिउँवाला गौतम, मुकुन भुषाल, कुशल विष्ट, केकी अधिकारी, आँचल शर्मा लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन् ।