चितवन,२६ भदौ ।
बाघको आक्रमणबाट चितवनको माडीमा एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजो भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।
शनिवारदेखि हराएका अधिकारी आज बिहान मृत भेटिएका हुन् । उनको शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।






