काठमाडौ,१५ भदौ ।
नेपाली कांग्रेसका शीर्ष नेताहरुले काँग्रेसले एक्लै जित्न सक्ने क्षेत्र नछोड्न पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुले काँग्रेसले एक्लै जित्ने क्षेत्रलाई नछोड्न सुझाएका हुन् ।
सत्ता गठबन्धन गर्दा २०७४ सालको समानुपातिक मतलाई समेत आधार बनाउन नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य सुनीलबहादुर थापाले जानकारी दिए ।
सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा कस्तो खालको बेन्च मार्क बनाउने भन्ने विषयमा छलफल भएकाे उल्लेख गर्दै थापाले सीट बाँडफाँट गर्दा २०७४ सालमा काँग्रेसले पाएको समानुपातिक मतलाई समेत आधार बनाइनुपर्ने सुझाव दिएको बताए ।
यस्तै गत वैशाख ३० गतेको स्थानीय चुनावको क्षेत्रलाई समेत आधार बनाइनुपर्ने कांग्रेसका शिर्ष नेताहरूले सुझाव दिएका छन् । काँग्रेसले कुन–कुनलाई आधार बनाई बेन्च मार्क बनाउने भन्ने विषयमा काँग्रेस नेताहरुले सुझाव दिएकाे बताइएको छ । काँग्रेस नेताहरुको सुझावका आधारमा गठबन्धनका शीर्ष नेताहरुले भागवण्डा टुंगो लगाउने जनाइएकाे छ ।






