काठमाडौँ,१५ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिदै जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबी गर्दै आफूलाई न्याय दिन समिति समक्ष आग्रह गरेका हुन् ।
’महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ उनले भने, ’मैले यहाँबाट न्याय पाउनुपर्छ ।’
अदालतमा गुटबन्दी हुनुको कारण आफू नभएर आफुपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षा रहेको जबराको भनाइ छ । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको दाबी छ । त्यसरी न्यायपालिका चल्दैन भनेर आफुले उक्त प्रस्ताव अस्वीकार गरेको जबराले बयानमा भनेका छन् ।
कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको उनको आरोप छ ।
आफु विधि र पद्धतिबाट आएको भन्दै उनले पार्टी र मिडियाको दबाबमा काम नगर्ने बताए ।





