मनोनयन र घरदैलोमा २५ जनाभन्दा बढीको जुलुस लान नपाउने
काठमाडौं,१४ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १७ दिन मात्रै प्रचार गर्न पाइने भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १७ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गरेको हो ।

सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितामा उम्मेदवारले चुनाव प्रचारको लागि १७ दिन पाउने उल्लेख छ ।

आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो । २०७४ को चुनावमा आयोगले ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पु¥याएको थियो । त्यसैलाई घटाएर १७ दिनमा पु¥याइएको हो ।
‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा सत्र दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने आयोगले राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितामा जनाइएको ।

प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार सामाग्री प्रकाशन प्रशारण गर्न तथा घर दैलो कार्यक्रम १७ दिन भित्र गरिसक्नु पर्नेछ ।

निर्वाचनमा विजयी भएका उम्मेदवारले पनि कुनै किसिमको भोजभतेर वा नगद र जिन्सी वितरण गर्न नहुने आचार संहितामा जनाइएको छ ।
प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले प्रचारका लागि यति धेरै समय नचाहिने भन्दै आलोचना भएको थियो ।

आयोगले भने मतपत्र छपाईका लागि समय धेरै लाग्ने भएकाले प्रचार प्रसारको समय धेरै छुट्याउनु परेको बताएको थियो ।

स्थानीय तह निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिएको थियो ।

आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेश गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख गरिएको छ ।

‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झांकी सहित जान नहुने,’ आचारसंहिताको दफा १३ (ण) मा उल्लेख गरिएको छ ।

त्यस्तै, उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ ।

‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने।’ आचारसंहितमा उल्लेख छ ।

तर जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका दश दश वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने आयोगको आचारसंहितामा जनाइएको छ ।

निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् ।

तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन् । त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडी लगायतका स्रोत साधन प्रयोग गर्न नपाइने आचार संहितामा जनाइएको छ ।