काठमाडौं, ९ भदौ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भएको टिप्पणी गरेका छन् ।
आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारीले भेटवार्ता तीव्र बनाएकी छन् । राष्ट्रपति भण्डारीले बुधबार मात्रै सैनिक अधिकारी र कानुनविद्हरुसँग परामर्श गरेकी थिइन् ।
बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिद्धारा सैनिक अधिकारीहरु तथा कानूनविद्हरुसँगको भेटवार्ता र राजीनामा दिने चर्चाबारे छलफल भएको बताइएको छ ।
बैठकमा एक सहभागी एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका थिए ।
त्यही क्रममा राष्ट्रपतिको भेटवार्ताको विषयमा समेत छलफल भएको हो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले गरेको भेटवार्ता असंवैधानिक भएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सक्रियता अस्वभाविक भएको टिप्पणी गरे । २०६३ सालमा नागरिकतासम्बन्धी कानुन बनाउँदा वर्तमान राष्ट्रपति भण्डारी समेत सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले अहिले आएर विरोध गर्नुको अर्थ नभएको बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिको सक्रियताप्रति असन्तुष्टि प्रकट गरे ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकबारे बुझाउन आफूले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेका थिए । राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्ररित छ भन्ने सबैको धारणा रहेको बैठकमा सहभागी एक नेताले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रपतिबारे छलफल भएको पुष्टि गरे ।
पार्टी पुनर्गठनको दिन पारेर बिहीबार एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, जसरी पूर्वप्रधान सेनापतिहरूलाई शीतल निवासमा बोलाएर भोज दिने कुरा भयो यसमा प्रश्न उठेको हो । राष्ट्रपतिले के गर्न खोजेकी हुन् ? भोलि अनिष्ट हुने त होइन ? बालुवाटारमा पनि छलफल भएको छ ।’






