काठमाडौ,९ भदौ ।
महंगो विदेशी मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाएकाे आराेपमा प्रहरीले भक्तपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराका अनुसार भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा समेत बरामद गरेको हो
नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । वली विक्रेता हुन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेकाे प्रहरीले जनाएको छ । वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको प्रहरीले जनाएको छ ।






