काठमाडौं,३ भदौ । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ ।
‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन,’ मञ्चले भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’
बेइमानी र कपटपूर्ण व्यवहार गरी निगमले उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदमी लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउन निवेदनमा माग गरिएको छ ।






