काठमाण्डाै,३ भदौ । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाण्डाैबाट नारायणगढका लागि छुटेको ना ६ ख ५९१३ नम्बरको ट्रक र बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकल पछाडि बस्ने सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा जीपको ठक्करबाट ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्युु भएको छ । ठक्कर दिने जीपको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।






