काठमाडौं,३१ साउन ।
मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगले जनाएको छ ।
८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । एउटै चुनाव चिह्नमा चुनाव लड्न चाहने समूह चार वटा रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालय समयसम्मको समयसीमा निर्धारण गरेको थियो । तोकिएको समयमा ८४ वटा राजनीतिक दलले आवेदन दिएका हुन् ।

नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए । तीमध्ये आउँदो चुनावमा भाग लिन ८४ वटा दलले मात्रै आवेदन दिएका हुन् ।