काठमाडौं,३० साउन ।
नेपालमा सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीन हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमित निको भएका छन भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेको छ ।

मन्त्रालयका अनुसार ५ हजार १८८ जना होम आइसोलेसनमा रहेका छन् भने १९९ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् ।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४० हजार ८३२ पुगेको छ ।