काठमाण्डौ,२६ साउन ।
नेपालमा बिहिबार थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी चार हजार ५३४ जनाको नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित निको भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको मृत्यु भइसकेको छ ।
यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर पाँच हजार ८६९ जना पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।






