काठमाण्डौ,२२ साउन ।
नेपालमा आइतबार थप पाँच सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १४ दशमलव ५९ प्रतिशत हो ।
सोही अवधिमा चार सय ३३ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा पाँच हजार ६ सय ५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १६ हजार नौ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।






