काठमाडौं,२१ साउन ।
नेपालमा भदौको दोस्रो हप्तातिर कोरोना संक्रमणको चौथो लहर उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।
ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपण अनुसार भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो ।
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा ०.६२ प्रतिशतमा रहेको संक्रमण दर २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ ।
कोरानोको नर्मल, मध्यम र उच्च खालको अवस्थालाई हेरेर प्रक्षेपण गरिएको ईडीसीडीका एक अधिकारीको भनाई छ ।
अहिले दैनिक थपिने संक्रमितको संख्या १ हजार आसपास रहेको छ । तर यो संख्या आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जाने जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार संक्रमित हुँदा रोकथामका लागि कति आइसीयू, भेन्टिलेटर, बेड लगायतका अन्य समान चाहिन्छ भनेर तयारीको लागि प्रक्षेपण गरिएको हो ।
धुलिखेल अस्पतालले पछिल्लो हप्ता गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा प्राप्त नतिजा अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ ले मुल ओमिक्रोन (बीए.टु) विस्थापित गर्दै लगेको छ ।
ओमिक्रोन मुल (बीए.टु) भन्दा सबभेरियन्ट ‘बीए.फाइभ’ ६० गुणा बढी रफ्तारमा फैलिने भएकाले यो धेरैमा सर्ने धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठ बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पनि सरकारले गरेको आकलनमा सहमत छन् । अबको तीन–चार हप्तामा संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि बिस्तारै संक्रमण घट्दै जाने उनको अनुमान छ ।
समुदाय स्तरमा संक्रमणका केसहरु रहेकाले परीक्षणको दायारालाई बढाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले एक डोज र ७०.६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै, २५.५१ प्रतिशत अर्थात् ७३ लाख ३४ हजार ५ सय ५ जनाले बुस्टर डोज लिएका छन् ।
एक चौथाईले मात्रै बुस्टर डोज लगाएकाले सरकारले तत्काल नै थप खोप दिनुपर्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ ।
स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कर्ण दास भने अबको केही हप्तामा अतिरिक्त खोप लगाउनेहरु बढ्ने दाबी गर्छन् ।
हाल दैनिक पीसीआर र एन्टिजेन गरेर ६ हजारको हाराहारीमा नमूना परीक्षण भइरहेको छ । जसमा संक्रमणदर १५ प्रतिशत पुगेको छ । तर, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकारले प्रर्याप्त रुपमा परीक्षण नगर्दा संक्रमण फैलिरहेको बताउँछन् । ‘संक्रमण बढी फैलिरहेको ठाउँ, संक्रमितको सम्पर्कमा आएका तथा बढी जोखिममा भएका मानिसमा परीक्षण अनिवार्य रुपमा गर्नुपथ्र्यो,’ डा. मरासिनी भन्छन्, ‘सरकारले परीक्षणमा ध्यान दिन सकेको छैन । धेरै मानिसहरु शुल्क लाग्ने भएकाले पनि परीक्षण गरेका छैनन् ।’






