काठमाडौं,२० साउन ।
नेपालमा शुक्रबार थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित निकाे भएका छन् ।

संक्रमितमध्ये ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये ४२ जना आईसीयूमा र २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।