काठमाडौं,१६ साउन ।
नेपालमा सोमबार थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ६५८ पीसीआर परीक्षण गर्दा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन भने १ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

मन्त्रालयका अनुसार ४ हजार ७९२ जना होम आइसोलेसनमा रहेका छन् भने १४२ जना संस्थागत आइसोलेसन र ३६ जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।