काठमाडौं,१६ साउन ।
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत फेला परेका हुन् ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल बीभत्स रहेको उनले बताए ।
‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।

पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो ।प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।