काठमाण्डौ,११ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार माध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
बुधवार काठमाण्डौमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
विश्वमा सूचना तथा प्रविधिको द्रूत गतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्न सक्नुपर्ने बताउदै प्रधानमन्त्री देउवाले सत्यतथ्य सूचना प्रवाह गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बिचार ब्यक्त गरे ।
नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको भन्दै उनले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताए ।
प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसुचित गर्ने गरी सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रवाह गर्न जरुरी रहेको उल्लेख गरे । तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको धारणा राखे ।
प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।
प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने उनको भनाई थियो ।






