काठमाण्डाै,३ साउन । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना रहेको माैसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् ।

लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । पर्सि दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्था भन्दा केही माथि अर्थात नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो ।

हिजोअस्ति मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्न सकेको थिएन । मौसम बदली भएसँगै गर्मी कम भएको छ।
­