काठमाडौं,१ साउन । नेपालमा आइतबार थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जना गरि १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित निकाे भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

नेपालमा हालसम्म ११ हजार ९५३ जना संक्रमितको मृत्यु भएको छ भने ९ लाख ६८ हजार १६ जना निकाे भएका छन् ।

जसमध्ये ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १८ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अहिलेसम्म नेपालमा कुल जनसंख्याको एक मात्रा ७०.३ प्रतिशत, ७० प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले बुस्टर ( अतिरिक्त) खोप लगाएका छन् ।