चितवन,२३ असार । चितवनको कालीका नगरपालिकामा चट्याङ लागेर १४ जना घाइते भएका छन् ।

जिल्लाकाे कालीका–८ मझुवामा रहेकाे कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएकाे प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । हिजाे बेलुका ६ बजेतिर चट्याङ परेको बताइएको छ ।