काठमाडौं,२२ असार ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

संसदमा विशेष समय लिएर बोल्दै अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । राजिनामाको घोषणा गर्दै उनले एउटा संसदीय छानबिन मात्र नभएर आफु हजारौं छानबिनका लागि तयार रहेको बताए ।

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको स्मरण गराउदै शर्माले आफुले गल्ती नगरेको पनि सांसदहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको उल्लेख गरे ।

सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरे । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको दाबी गरे ।

आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको उनको दाबी छ ।

राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।
यसअघि प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।
संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।