काठमाडौँ,१३ असार ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले भत्काएको समाजवादको जग जोगाउन सत्ता गठबन्धन भएको बताएका छन् । एमालेले समाजवादको जग भत्काउन खोजेको भन्दै उनलेे समाजवादको जग जोगाउन सत्ता गठबन्धन भएको बताए ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै बरिस्ठ नेता पाैडेलले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा आफूभन्दा अगाडि बोलेका एमाले महासचिव शंकर पोखरेललाई जवाफ दिँदै उनले समाजवादको जग जोगाउन गठबन्धन बनेको बताए । पोखरेलले अहिलेको गठबन्धन सरकारको ‘हालत’ काे बिषयलाई लिएर ब्यङ्ग्यात्मक टिप्पणी गरेका थिए ।

सँगै मञ्चमा रहेका पौडेलले पोखरेलाई जवाफ दिँदै भने,‘शंकरजीले समाजवाद के बुझ्नु भएको छ, मैले के बुझेको छु, भन्न मन थियो उहाँ हिड्नु भयो।’

एमालेले समाजवादको जग भत्काएको पौडेलको भनाइ छ। ‘उहाँहरुले समाजवादको जग भत्काउन खोज्नु भएको थियो। त्यसलाई जोगाउन गठबन्धन बनाइयो,’ उनले भने।

आफू बाङ्गा कुरा गर्न नजान्ने बताउँदै उनले एमालेको पालाको सरकार पनि हेरिसकेको उल्लेख गरे। ‘यो गठबन्धन आवश्यकता त्यही भएर भयो, म बाङ्गा कुरा जान्दिनँ,’ उनले भने,‘कम्युनिस्ट पार्टीको सरकार पनि त हामीले हेर्‍यौँ नि ! खै त केही गरेनन।’