काठमाण्डौ,५ असार ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजा ल्याउन गम्भीर षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउन गम्भीर षड्यन्त्र गरिरहेको बताएका हुन् ।
उनले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा रहेको बताए ।
‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’ उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो’, अध्यक्ष नेपालले भने ।
उनले राजनीतिक पार्टी, नागरिक समाज र मिडियाले यस्ता समस्याका बारेमा सरकारलाई दबाब दिनुपर्ने पनि बताए । भ्रष्टाचार र गैरजिम्मेवार प्रवृतिको बिरोध गर्नुपर्ने भन्दै उनले जनता मूल्य बृद्धिको चपेटामा परेको बताए ।






