काठमाण्डौ,३० जेठ ।
पछिल्लो नौ महिनामा राजस्व अनुसन्धान विभागले १० अर्ब ३० करोड रुपैयाँ जरिबाना माग दाबी गरेर दुई सय तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
गएको असोज १८ गतेदेखि यही जेठको ३० गते अर्थात आजसम्म ६९ वटा मुद्दामा दुई सय तीन जनालाई प्रतिवादी बनाएर १० अर्ब ३० करोड रुपैयाँ जरिबाना तथा जरिबानाको दोब्बरले हुन आउने २० अर्ब ६१ करोड रुपैयाँ बिगो मागदाबी गरेर उच्च अदालतहरूमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
यस्तै विदेशी मुद्रा अपचलनको आरोपमा ४६ वटा मुद्दामा ७८ जनालाई प्रतिवादी बनाएर एक अर्ब १० करोड रुपैयाँ बिगो रकम माग दाबी सहित मुद्दा दायर भएको पनि उनले बताए ।
यस्तै भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ६ सय ६८ वटा फर्म र गाडीलाई कारबाही गरी तीन करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको बिभागले जनाएको छ । यस अवधिमा सात सय १३ वटा नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन भएका छन् ।
पछिल्लो समय आयातमा भएको कडाइका कारण चिनी, लत्ता कपडा, रक्सी र विद्युतीय सामग्रीको चोरी पैठारी बढेको तथा नियमित भन्सार विन्दु प्रयोग नगरि एकै पटक गोदामस्थलमा स्रोत नखुलेको वस्तुको भण्डारण र कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धानलाई तीव्र बनाइएको विभागले जनाएको छ ।






