काठमाडौं,२१ वैशाख ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।
केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिए ।
भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।
गत चैत दोस्रो साताबाट कपिलवस्तुको शिवगढीमा सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । तर उनको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो । त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिस्कार पनि नगर्ने तथा जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने निर्णय बैठकबाट भएको थियो ।
तर विप्लव र प्रकाण्डले काठमाडौंमा आएर पार्टी दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चर्किएको थियो ।
चुनाव पक्षधर नेताहरू विप्लव र प्रकाण्डले आफूहरुलाई पनि चुनावमा पनि सहभागी गराउनुपर्ने भन्दै प्रधानमन्त्री लगायतसँग ‘लबिइङ’ गरेका थिए । तर चुनावको विपक्षी रहेका नेताहरुले आफ्नो पार्टी चुनावको पक्षमा नरहेको भनेर नेताहरुलाई बुझाउन खोजेका थिए ।
१२ वैखामा धर्मेन्द्रले पार्टीको नीतिविपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आहृवान गरेर विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
अहिले पनि बहुमत केन्द्रीय सदस्य चुनाव बहिस्कारको पक्षमा रहेको दाबी लोहनीको छ। ‘बहुमत साथीहरू अलिहे पनि केन्द्रीय समितिको निर्णयभन्दा बाहिर जानु भएको छैन’ उनले भने, ‘अहिले पनि हामी चुनाव बहिस्कारको पक्षमा छौं । पार्टी संसदवादमा गयो भन्नेमा एकमत छौं । यो मतमा अहिले पनि हामी बहुमतमै छौं ।’






