काठमाडौं,१९ वैशाख ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग जवाफ माग गरेको छ ।
त्यस्तै आयाेगले उम्मेदवार केशव स्थापितलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो ।
कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरु आफैंमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको आयोगका एक आयुक्तले जानकारी दिए ।
आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु छन् ।
केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गर्न माग गरेका थिए ।
स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।
स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको हो ।
आयोगका अनुसार उक्त अभिव्यक्ति ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको छ ।






