काठमाडौं,१४ वैशाख ।
नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वकाे नेकपा भित्रकाे बिवाद उत्कर्षमा पुगेको छ ।
स्थानीय निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने बिषयमा भएको बिवाद बढ्दै जादा पार्टीमा कारबाहीको श्रृङखला सुरु भएको छ ।
साेहि बिषयलाई लिएर पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरुलाई पदमुक्त गरेका हुन् ।

दुवै जनालाई अनिश्चितकालसम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

हालै वलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए । साथै बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य निकालेका थिए ।