काठमाडौं,१२ बैशाख ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सकिएको छ । सोमबार साँझ ५ बजेसम्म निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका हुन् ।

स्थानीय चुनावका लागि सोमबार साँझसम्म ८२ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले बेलुकी ९ बजे सार्वजनिक गरेको विवरणअनुसार देशभरिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयमा ८२ हजार २ सय १० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

आयोगका अनुसार तीमध्ये महानगरपालिका‚ उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा २ हजार ३ सय ४३, उपप्रमुखमा १ हजार ४ सय ४५ र गाउँपालिकाको अध्यक्षमा २ हजार ४ सय ९७ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी परेको छ

यसैगरी वडाध्यक्षमा २० हजार १ सय ७६, महिला सदस्यमा १३ हजार ५ सय ५४, दलित महिला सदस्यमा १२ हजार १ सय ८१ र सदस्यमा २८ हजार २ सय ८८ जनाले मनोनयन पत्र दर्ता गराएको आयोगले जनाएको छ । आयोगले सोमबार राति अबेर भएपनि उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

आयोगका देशभरिका ७ सय ५३ वटा कार्यालयमा बुझाएका मनोनयन पत्र रुजु भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।