काठमाडौँ,५ बैशाख । स्थानीय तहको निर्वाचनमा सिट भागबण्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बिहान साढे नौ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।
सोमबारको बैठकले मुलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ । गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति भने भइसकेको छैन । कांग्रेस महामन्त्री गगन थापाले स्थानीय चुनाव भएकाले स्थानीय नेता कार्यकर्ताको भावना बमोजिम अघि बढ्नुपर्नेमा जोड दिएको बताए ।

आइतबार विहान छलफल गरेका शीर्ष नेताहरुले भने सोमबार महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाउने समझदारी बनाएका थिए ।

यसैबीच लुम्बिनी प्रदेशमा पनि आज सत्ता गठवन्धन दलको बैठक बस्दै छ ।