काठमाण्डौ,३० चैत ।
नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएको छ ।
आज दुवै दलका नेताहरूबीच भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ ।

त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका प्रवक्ता सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमतिअनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यका लागि केन्द्रमा प्रस्ताव पठाउने सहमति भएको बताइएको छ ।
आगामी निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनसक्ने आकलन गरिएका बेला आज दुई दलबीच सहमति भएको हो ।