काठमाण्डाै,१४ चैत । काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रको मौसम धुम्मिएको छ । विषेशगरी वाग्मती प्रदेश, प्रदेश नम्बर एक र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम धुम्मिनुका साथै केही ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
अहिले काठमाण्डौका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ भने अरू ठाउँमा पनि केहीबेरमा पानी पर्ने सम्भावना रहेको उनले बताए । एक/दुई घण्टापछि भने बिस्तारै मौसम सफा हुँदै जान्छ माैसमविदले बताएका छन् ।
जमिन तातेर स्थानीयस्तरमै बनेको हावाको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम धुम्मिएको हो । स्थानीय हावाकै प्रभावका कारण अहिले केहीबेरमा बाग्मती प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा वायुमण्डलमा भएका धुँवा र धुलोका कणलाई हावाले राम्ररी उडाएर लैजान नसकेकाले मौसम बढी धुम्म देखिएको मौसमविद् भट्टराईको भनाइ छ । भोलि मङ्गलवार पनि बिहान र दिउँसो घाम लागेर बेलुकातिर मौसम धुम्मिएर पानी पर्ने सम्भावना रहेको उनले बताए ।







