काठमाडौं,५ चैत ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको हो ।
स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचार संहितामा व्यवस्था गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ । १४ र १५ गते दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ हुनेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

१७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयाेगकाे कार्यतालिका रहेको छ ।

त्यसपछि उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको काम सुरु गर्ने समय निर्धारण गरिएको आयोगका प्रवक्ता पौडेलले बताए । अर्थात उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।

राजनीतिक दल र सरोकारवाला निकायहरुको परामर्शमै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताए । थानीय तहमा बहालवाला पदाधिकारीहरुले पदीय हैसियत दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित नपारुन् भन्नका लागि पनि यो प्रावधान राख्नु परेको उनको थर्क छ ।

पदाधिकारी कायम रहेका व्यक्ति उम्मेदवार हुँदा पदीय हैसियत प्रयोग गरेर निर्वाचन प्रभावित हुन्छ कि भन्ने आंकलन गरेर यो व्यवस्था गरिएको प्रवक्ता पौडेल बताए ।