काठमाडौं,२९ फागुन । राजावादी संगठन शाही यूवा शक्ति नेपालले ११औं स्थापना दिवसको अवसरमा हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा
चैत २१ गते विशाल ¥याली सहित नारायणहिटी कब्जा गर्ने चेतावनी दिएको छ ।
आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरि को शाही युवा शक्ति नेपालले त्यस्तो चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा शाही यूवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा अन्तिम लडाईँ लड्न चैत २१ गते सडकमा आउन आम नेपाली जनतामा आग्रह समेत गरे । उनले फेसबुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने जनता सडकमा आउँनुपर्ने बताए । खड्काले भने, ‘काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोध सभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्नेछौं ।’ चैत २१ गते रत्नपार्कमा भेला भएर ¥याली निकालेर नारायणहिटी दरबारमा जाने र हाते साङ्लो बनाएर जनताको कब्जामा लिने कोशिस गर्ने बताए ।
अहिलेको अवस्थामा गणतन्त्रले सिमा नाघेको भन्दै फलस्वरुप एमसीसी पास भएको बताए । राजसंस्था र हिन्दुराष्ट्र तत्काल नफर्किए नेपाली जनताले दुःख पाउने तर्क गर्दै भने ‘नेपाली जनता कुनै देशको सरणार्थी हुनेछन् । त्यसैले अब जनताले सशक्तरुपमा आवाज उठाउन पर्छ ।’
खड्काले आफूहरु राष्ट्रका लागि जुनसुकै आहुति दिन तयार रहेको भन्दै नेपाली जनताले साथ दिनुपर्ने बताए । ‘राजा हुँदा हामीसबै नेपाली जनता थियौं तर, लोकतन्त्रका नाममा गणतन्त्र आएपछि हामीसबै कार्यकर्ता भएका छौं । त्यसैले नेपाली जनताको अस्तीत्वको बचाउनको लागी गणतन्त्र फाल्नुपर्छ,’उनले भने ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले आफुहरुले सडक संघर्षको माध्यमबाटै राज संस्था फर्काउने उद्देश्य लिएको भएपनि नेपाली जनताबाट साथ नपाएको गुनासो गरे । साथै, शाही यूवा शक्ति नेपाल र राप्रपा बीच एकताका लागि वार्ता भइरहेको समेत जानकारी दिए ।

कार्यक्रममा शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गानाले नेपाली नागरिकले गणतन्त्रका कारण सुखको स्वास फेर्न नपाएको भन्दै राजसंस्थाको पुःनस्थापना हुनुपर्ने औल्याए ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले राजनीतिक दलका नेताहरुलाई ‘छोटे राजा’ को संज्ञा दिदै नेताहरुले देश बेचेर खाएको आरोप लगाए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहालाई पुनः गद्दीमा बसाल्ने दाबी गरे । उनले देशका ४० जिल्लामा आफुहरुले संगठन विस्तार गरिसकेको जानकारी दिए ।
त्यस्तै शाही यूवा शक्ति नेपालका अर्का केन्द्रीय सदस्य रामकुमार बस्नेतले आफूहरुले दश वर्ष पहिला पहिलो पटक गणतन्त्र विरोधी अभियान सुरु गरेको स्मरण गराउँदै राजतन्त्र फालेकोमा नेपाली जनता पछुताएको दाबी गरे ।