बुटवल,५ माघ ।
नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताललाई एक थान भेन्टिलेटर सहितका उपकरण प्रदान गरेको छ ।
भेन्टिलेटर सहित रेडक्रसले त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराएको हो ।
नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले एक कार्यक्रमकाबीच लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।

सामान प्रदान गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव पंगेनीले कोरोना महामारीसंग जुध्न रेडक्रसले यस अगाडि पनि आवश्यक सामाग्रि प्रदान गरेको स्मरण गर्दैन काेभिड तेस्रो भेरियन्टको संक्रमण बढेसंगै अस्पतालमा आउने बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्ले भेन्टिलेटर मेसिन प्रदान गरिएको बताए ।
साे अवसरमा अस्पतालका मेसु डा. ढकालले रेडक्रसले विगत देखि नै अस्पतालमा निरन्तर रुपमा उपचारमा प्रयोग हुने उपकरणहरु सहयोग गर्दै आएको बताउँदै रेडक्रसलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले प्राप्त भएका उपकरणहरुको सहि सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।