सवै वडामा पायक पर्नेगरी ल्याबसहितको सेवा
बुटवल,४ माघ । बुटवलका विभिन्न ठाउँमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र विस्तार तथा व्यवस्थित भएका छन् ।
सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।
विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवर्धन केन्द्रको हालै एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका हुन् ।
सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवा समेत थपेर विस्तार गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।
बुटवलकाे वडा नं. २ वडा नं.१५ वडा नं.१६ र वडा नं. १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको हो ।
साे अवसरमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारती, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधि,शिक्षा, जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईलगायतको सहभागिता रहेको थियो ।
नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्रहरु र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मोतिपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बाँकी ठाउँमा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मीहरु र एक्सरे, अल्ट्रा साउण्ड र मधुमेह परीक्षणको सुविधा समेत उपलव्ध छ । यी सबै स्वास्थ्य संस्थाहरुमा करिब ७५ प्रकारका
औषधि निशुल्क रुपमा वितरण हुँदै आएको छ ।
जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवाप्रवाह गरिरहेको छ ।
बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडीकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेकाे उपमहानगरपालिकाले जनाएको छ ।
साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् ।
उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत
स्वास्थ्यकर्मीहरुले नियमित सेवाप्रवाह गर्दै आएका छन् ।
सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा
स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरबासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीले बताए । सेवाग्राहीको संख्या मात्रै होइन उनीहरुमा सन्तुष्टि पनि बढाउनेगरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उहाँको भनाइ छ ।
मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरि विश्वसनिय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको प्रमुख सुवेदीले बताए ।
बढ्दो मात्रामा छन् सेवाग्राही सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्यामा भने उल्लेख्य वृद्धि
भएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना रहेकोमा गत आव २०७५÷७६ मा १० हजार भन्दा धेरैले बृद्धि भए । त्यस वर्ष मात्रै कुल ३२ हजार आठ सय २१
जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाको तथ्यांकमा छ । गत आवमा यो संख्या अझ बढेको छ ।
स्वास्थ्य संस्था नभएका वडाहरुमा वडा क्लिनिक सञ्चालन गरिएको थियो । जसअन्र्तगत आव २०७४÷७५ मा चार हजार सात सय चारजनाले सेवा लिएकोमा गत आव ०७५÷७६ मा बृद्धि भई नौ हजार पाँच सय ९० जना सेवाग्राही पुगे । ०७६÷०७७ मा त्यो संख्यामा कैयन बृद्धि भएर ४२ हजार तीन सय ५४ जनाले सेवा लिएका छन् भने ०७७÷०७८ मा ४५ हजार ६ सय २० जनाले र चालु आवको हालसम्मको अवधिमा
मात्रै ३८ हजार जनाजतिले समग्र स्वास्थ्य संस्थाहरुबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिए ।
यो संख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो । बुटवलमै रहेका, आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालहरुमा सेवा लिनेको संख्या यसमा समावेश छैन । बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र
स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निशुल्क औषधि उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो मानिन्छ । ‘नगरप्रमुख जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परिक्षण’ शिर्षकमा सुरु भएको यो कार्यक्रम अन्र्तगत करिब १० हजार जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यो कार्यक्रम कोभिड महामारी र स्वास्थ्य मापदण्डको पालना गर्दै अहिले पनि जारी राखिएको छ ।
गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि
गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रागी सहयोग गरिएको छ । महिलामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धी गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमुना भएको उपमहानगरपालिकाकाे दाबी छ । यस कार्यक्रम अन्र्तगत तीन हजार जना लाभान्वित भएका छन् ।
उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको बताउनुभयो । प्रोटोकल अनुसार चारपटक गर्भजाँच गर्ने महिलाको संख्या पनि बढिरहेको छ । करीब तीन हजार जनाले सेवा लिइसकेको स्वास्थ्य
शाखाको तथ्यांकमा छ ।
सबै वडालाई पायक पर्नेगरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको शिक्षा, जनशंख्या तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले बताए । उनले स्वास्थ्य केन्द्रहरुमा अझ आधुनिक उपकरण र दक्ष
जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने बिश्वास ब्यक्त गरे ।
नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निशुल्क सुगरको जाँच भइरहेको उपमहानगरपालिकाले जनाएको छ । यसखालको निशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत हालसम्म करिब ३६ हजार जनाले यो सेवा लिइसकेका छन् । उपमहानगरका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुको निशुल्क ल्याब परिक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको जनाइएको छ ।






