बुटवल,३ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विपतमा प्रदेशबासी जनताको रक्षा र कोरोना नियन्त्रणका लागि प्रदेश सरकार हरक्षण लागि परेको बताएका छन् ।
उनले सबै सरोकारवाला निकायको सहभागीतामा प्रदेश सरकार प्रदेशका जनताको जीवन रक्षा गर्न लागि परेको बताए ।
आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संघीय सरोकारवाला निकायसँगको भर्चअल बैठकमा मुख्यन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले जनउत्तरदायित्वका कामसँगै कोरोना महामारीको सामना गरिरहेको बताएका हुन् ।
भारतबाट आउने नाकाका हिसावले लुम्बिनी प्रदेश मिनि नेपाल भएको बताउँदै उनले जनताको जीवन रक्षा गर्न प्रदेश सरकार हरवखत लागि परेको जानकारी गराए ।
प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौती रहेको भन्दै मुख्यमन्त्री केसीले थप बजेट तथा सामाग्री सहयोग गर्न प्रधानमन्त्री मार्फत संघीय सरकारलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशमा सबै राजनीतिक दल, सरोकारवाला निकायहरुलाई कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडी बढेको बताउदै उनले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेकोले सबै सरोकारवालाले प्रदेशवासी जनताको जीवन सुरक्षा मुख्य एजेण्डा बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री केसीले दोस्रो चरण कोभिड खर्च व्यवस्थापन बापत संघीय सरकारले १० करोड सोधभर्ना गरि दिनुपर्ने बताउँदै तत्कालै सो खर्च सोधभर्ना गरिदिन समेत अनुरोध गरे ।
कोरोना नियन्त्रणका लागि भैरहवा, कृष्ण नगर र नेपालगञ्जमा होल्ड सेन्टर स्थापना गर्न प्रदेश सरकारले आवश्यक तयारी गरेको बताउदै मुख्यमन्त्री केसीले कोरोनाको हिसाबले तराइका जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु बढी जोखिममा रहेको जानकारी गराए ।
उनले अब गर्मियाममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनु पर्ने बताए ।
विपतका लागि प्रदेश अझ धेरै प्रभावित हुन सक्ने बताउँदै उनले बुटवलको ज्योती नगरलाई संघीय सरकारको सहकार्यमा पीडितहरुको समस्या समाधान गर्नुपर्ने आवस्यकता औल्याए ।
लुम्बिनी प्रदेश भारतसँग खुल्ला नाका रहेकोले भारतबाट आउने नागरिकहरुलाई परिक्षण गर्दा कोभिड–१९ देखिने र ती नागरिकहरुलाई घरसम्म पठाउन यातायातका साधनहरुको समस्या भएको बताउदै मुख्यमन्त्री केसीले त्यसका लागि संघीय सरकार र प्रदेश सरकारकारको सहयकार्यमा उद्धार गर्नुपर्नेमा जोड दिए ।
उनले संघीय सरकार र प्रदेश सरकारले नीति निर्माण गर्ने तथा कार्यन्वयनका लागि स्थानीयतहलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बिचार ब्यक्त गरे ।
भर्चुअल बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले बर्तमान सरकारको पहिलो कार्यभार भनेको जनताको स्वास्थ्य भएकोले सबै प्रदेशमा त्यसरीनै काम गर्न निर्देशन दिए ।
बैठकमा प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव नरेन्द्र राना, मुख्यमन्त्रीका नीजि सचिव कमानसिंह थापा लगायतको सहभागीता रहेको थियो ।






