बुटवल,३ माघ ।
शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास हुँदै गएको बुटवलमा पछिल्लो समय स्वास्थ्य सेवामा नयाँ र बिशेषज्ञ सेवाहरु थप हुँदै जान थालेका छन् ।

यसैक्रममा छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर उपभोक्ताहरुको मन जित्न सफल भएको साझा हस्पिटल प्रा.लि.ले हेमोडायलासिस,एनआईसियु तथा युरो सर्जरी सेवा बिस्तार गरेको छ ।

हेमोडायलासिस,एनआईसियु तथा युरो सर्जरी सेवाको सोमबार एक कार्यक्रमकाबीच अस्पतालका अध्यक्ष गोविन्द खनालले उद्घाटन गरेका हुन् ।

थप सेवाको शुभारम्भ गर्दै अध्यक्ष खनालले मृगौलाका बिरामीहरु दिनप्रतिदिन बढिरहेको परिस्थितिमा बिरामीहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उदेश्यले हेमोडायलासिस लगायतका सेवा बिस्तार गरेको जानकारी दिए ।

नियमित डायलासिस गराउनुपर्ने बिरामीहरुले यस क्षेत्रमा सर्वसुलभ सेवा पाउन नसक्दा बाहिर जानुपर्ने र जसले गर्दा बिरामीहरुलाई उच्च आर्थिक ब्ययभार पर्न गएकोले उनिहरुलाई सर्वशुलभ सेवा उपलब्ध गराउने उदेश्यले हेमोडायलासिस सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष खनालले बताए ।

तत्कालका लागि हेमोडायलासिस सेवा सशुल्क भए पनि निकट भबिश्यमा पूर्णरुपमा निशुल्क गराइने बताउदै अध्यक्ष खनालले त्यसका लागि प्रदेश सरकारसँग प्रकृया अगाडी बढिसकेकोे जानकारी गराए ।

बिकराल रुपमा देखापरेको मृगौला सम्बन्धी समस्याको हाम्रा आहार बिहार जिवन शैलीका कारण बिग्रदै गएको मानव स्वास्थ्य अवस्था सुधार गर्न,रोग लाग्नबाट बचाउन,जनचेतना जगाउने र रोगिहरुको निशुल्क उपचार गर्ने अस्पतालको लक्ष रहेको उनले बताए ।

हाल ८ वटा मेशिनबाट शुरु गरिएको र निकट भबिस्यमै ५० वटा मेशिन पुर्याई लुम्बिनी प्रदेशकै ठूलो र नमुना डायलासिस सेन्टरको रुपमा विकास गर्ने आफुहरुको लक्ष रहेको पनि अध्यक्ष खनालको भनाई छ ।

त्यसका लागि झापाको भद्रपूर स्थित ओम साई पाथिभरा अस्पतालसँग सहकार्य गरिएको अस्पतालले जनाएको छ ।

हाल ३ करोण लगानीमा हेमोडायलासिस सेवा सञ्चालनमा ल्याइएको बताउदै अध्यक्ष खनालले यस क्षेत्रमा नवजात शिशु सघन उपचार केन्द्र (एनआईसियु) सेवा अति कम रहेकोले सो सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।