विराटनगर,२० पुस ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको आयु एजेण्डा र आवश्यकताले निर्धारण गर्ने बताएका छन् ।
आगामी दिनमा हुने तीन तहको निर्वाचन काँग्रेस एक्लै चुनावमा लड्ने या गठबन्धनको सहकार्यमा लड्ने भन्ने टुङ्गो लागि नसकेको उनलेे बताए ।

आज विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार सहमतिमा टुङ्ग्याएको बताए । ‘आगामी तीन तहको निर्वाचनमा काँग्रेस चुनाव एक्लै लड्ने हो ?’ भनेर सञ्चारकर्मीकाे जिज्ञासामा महामन्त्री शर्माले भने, ‘कसैको घरमा पास्नीको निम्तोमा विवाहको शुभकामना दिन मिल्दैन । पाँच दलीय गठबन्धनको सहयात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेको छ। भोलि हुने तिन तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जान्छ या जाँदैन भन्ने बारेमा एजेण्डा र आवश्यकताले निर्धारण गर्नेछ ।’

उनले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको सरकार सफल भएको दाबी गरे । महाधिवेशनपछि सभापतिसमेत रहेका शेरबहादुर देउवालाई सरकारमा काम गर्न थप ऊर्जा मिलेको उनलेे बताए ।

महामन्त्री शर्माले अहिलेको सरकारले कोरोनाको खोपमा सफलता मिलेको दाबी गरे । उनले पाँच दलीय गठबन्धनको सरकारको निर्धारण गरेको खोप र चुनाव सम्पन्न गर्ने प्रमुख दायित्वमा दुवै सफल हुँदै गएको दाबी गरे ।

महामन्त्री शर्माले काँग्रेसको १४ औँ महाधिवेशन पछाडि काँग्रेसभित्र गुटउपगुट सकिएको समेत दाबी गरे । उनले पराजय भोगेका नेताहरू अक्षम भएको नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । ‘शेखर कोइरालाले तपाईंलाई नेता मान्ने कि तपाईंले नेता मान्ने ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले कसले कसलाई नेता मान्ने भन्ने विषय ठुलो नभएको समेत बताए ।

राष्ट्रियसभाको चुनावमा गठबन्धनसँग मिल्दा काँग्रेसलाई तीन वटा सिटमा फाइदा पुगेको पनि उनले बताए । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे ।