धनगढी,२० मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाकाे हर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका-१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ।
पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार थिए । तर जीप चालक भने फरार छन् । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन ।









