बिराटनगर,१ मंसिर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभाम आज भएको मतदानमा राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत मात्रै परेको थियो ।

मतदानपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएकोले राईले विश्वासको मत पाएको घोषणा गरे ।

राईलाई उनको दल नेकपा एकीकृत समाजवादी सहित गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन रहेको छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

गत १५ कार्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई १६ कार्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री राईले विश्वासको मत हासिल गरेसँगै प्रदेशसभाको बैठक स्थगित भएको छ ।