ओखलढुङ्गा,२९ कार्तिक ।
ओखलढुङ्गामा तिर्थयात्री बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाकाे चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे हो । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
मन्दिरतर्फ जाने क्रममा जीप सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरि अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडाअध्यक्ष झनक कार्कीले जानकारी दिए । घटनामा परि गम्भीर घाइते भएकाहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ ।
घटनाको अझै थप विवरण आउन बाँकी छ । जीपमा सुनकोशी गाउँपालिका-८ च्यानम र सिद्धिचरण नगरपालिका-१० रुप्सेका दर्शनार्थी रहेको बताइएको छ ।








