बुटवल,२३ कार्तिक। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । न्यायालय र राजनीतिक दलको जिम्मेवारी र दायित्व फरकफरक रहेको भन्दै उनलेे एकले अर्काको क्षेत्राधिकारभित्र प्रवेश गर्न नहुने बताए ।
मंगलबार भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै यादवले न्याय निरुपण गर्ने काम न्यायालयको र राजनीति गर्ने काम राजनीतिक दलको भएकाले दुवैले आ–आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्नेमा जाेड दिए ।
राजनीतिक दलले न्याय दिने र न्यायालयले राजनीतिक गर्न थाल्ने हो भने मुलुककाे दुर्दशा हुन्छ ।
न्यायपालिकामा हाल देखा परेको समस्याप्रति इंगित गर्दै उनलेे भने, ‘राजनीतिक दलले न्याय दिने अनि न्यायालयले राजनीतिक गर्न थाल्ने हो भने के दुर्दशा हुन्छ ?’ उनले राजनीतिक दल र न्यायालयले आफ्नो सीमा रेखाभित्र रहेर एक अर्काको क्षेत्राधिकार भित्र प्रवेश गर्न नहुने बताए ।
राजनीतिक मुद्दालाई अदालतबाट भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने बताउदै नेता यादवले न्यायपालिकाभित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिने थाले मुलुक बर्बाद हुने बिचार ब्यक्त गरे ।
नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगारीका लागि युवाहरु कतार, मलेसिया लगायतका मुलुक जानुनपर्ने भन्दै उनलेे पर्यटनको विकासबाट नै स्वदेशमै प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।





