गुल्मी,२२ कार्तिक ।
मोटरसाइकलको ठक्करबाट गुल्मीमा एक पैदल यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–८ किसानटारी बस्ने ८१ वर्षीया जमुना खनाल रहेकी छन् ।

तम्घासबाट सिमलटारी जाँदै गरेको लु ५५ प ९७५७ नम्वरको मोटरसाइकलले सोमबार साँझ मालिका गाउँपालिका–८ किसानटारीमा पैदल यात्रा गरिरहेकी ८१ वर्षीया जमुना खनाल र ७२ वर्षीया लीला खनाललाई ठक्कर दिएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी जमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लीला खनालको टाउको र खुट्टामा चोट लागेकाले उनलाई थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल चालक मालिका गाउँपालिका–८ दगासका २७ वर्षीय ललित पौडेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।