काठमाण्डाै,२१ कार्तिक । नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५६३ जना काेराेना संक्रमित निको भएका छन भने ९ जनाको मृत्यु भएको छ ।

नेपालमा ७ लाख ९५ हजार ३९७ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ४४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा काेराेना संक्रमण ?

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।