बिराटनगर,१६ कार्तिक । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।

पाँच दलीय गठबन्धनकाे समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राई मुख्यमन्त्रीमा नियुक्त
भएका हुन् ।
बहुमत प्रदेश सभा सदस्यहरूकाे हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवालयले जनाएकाे छ ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले आज १ बजे सम्ममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दहरुलाई आह्वान गरेका थिए । समयसीमा सकिए लगत्तै आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बताइएको छ ।

आजै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट एक–एक जना मन्त्री बन्ने छन् ।