बुटवल,९ कार्तिक । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी सिटमा विजयी हुने दाबी गरेका छन् ।

मंगलबार एमाले तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पाैडेलले आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर स्थानीय तह,प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गरेका हुन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्ने भन्दै उनलेे अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्ने दाबी गरे । पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको बताए ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको भन्दै स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।