बुटवल,७ कार्तिक ।
पूर्व तयारी बिना शिलान्यासको हतारोका कारण मोतिपूर घटना निम्तिएको सरकोकारवालाहरुले बताएका छन् ।

संवाद समूह सचिवालय तुल्सीपूरद्धारा आइतबार बुटवलमा आयोजित भूमिहिन सुकुम्बासी समस्या र व्यवस्थापनका सवाल बिषयक संवाद कार्यक्रममा बोल्दै सरोकारवाला स्थानीय तथा राजनीतिक दलका नेताहरुले उक्त कुरा बताएका हुन् ।
स्थानीय जनतासँग भएको सहमति बिपरीत तत्कालिन सरकारले औद्योगिक करिडोरको शिलान्यास गर्ने हतारो गर्दा बिवादकोे बिजारोपण भएको भन्दै उनिहरुले सूरक्षा निकायबाट बिषयबस्तुको गाम्भिर्यता र संवेदनशीलताको बिष्लेषण गर्न नसक्दा निहत्था नागरिकको ज्यान गएको आरोप लगाए ।
सार्वजनिक सम्पत्तिको सूरक्षा गर्ने जिम्मेवारी र दायित्व राज्यको भए पनि निहत्था नागरिकको ज्यानै जानेगरी गोली चलाउनु जायज नभएको उनिहरुको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज राम प्रसाद बञ्जाडेले जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा भएका जनतालाई मुआब्जा नदिइ तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्नु आफैमा अपराध भएको भन्दै सूरक्षाकर्मीले पनि अनाबस्यक बल प्रयोग गर्दा चार जना निहत्था नागरिकको ज्यान गएको बताए ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेले स्थानीय जनताको लालपुर्जा भित्रको जग्गा औद्योगिक क्षेत्रको नक्सामा परेको जान्दा जान्दै उनिहरुलाई सहमतिमा नल्याई शिलान्यासको हतारो गर्नुले समस्या समाधान हुनुको साटो थप बल्झिएको भन्दै बिवाद समाधानको प्रयास नगरी जनताको ज्यानै जानेगरी गोली चलाउन नहुने धारणा राखे ।
जनता समाजवादी पार्टी बुटवलका अध्यक्ष बामदेव बस्यालले तत्कालिन सरकारले समस्या समाधान गर्ने भन्दा पनि आफ्नै पालामा शिलान्यास गरेको जस लिन खोज्दा बिवाद थप बल्झिएको भन्दै बिवाद समाधानउन्मुख भैरहेको अवस्थामा तत्कालिन सरकारले शिलान्यास गरेर बिवादलाई थप बल्झाएको आरोप लगाए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब मीना ढकाल, राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत बशन्त अर्याल, नेकपा एकिकृत समाजवादी बुटवलका अध्यक्ष चीन बहादुर गुरुङ,नेपाल बार एशोसियसन उच्च अदालत तुल्सीपूर बुटवल इजलासका अध्यक्ष जोगबहादुर खत्री,बिघटित भूमिहिन तथा सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष बलबहादुर आचार्य,आयोगका पूर्व जिल्ला अध्यक्ष हरीबहादुर आचार्य क्षेत्री,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का,राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश महासचिब हुमनाथ अधिकारी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु,बुटवल उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष सन्तबहादुर राना लगायतले गोली चलाएर मात्रै समस्या समाधन नहुने भन्दै नागरिक गैर जिम्मेवार भए भन्दैमा राज्य पक्षले संयममता गुमाउन नहुनेमा जोड दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले भने औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहलाई धेरै पटक सम्झाउने बुझाउने प्रयास गरेको दाबी गर्दै सूरक्षाकर्मीमाथि ढुंगामुढाका अलावा पेट्रोल बम प्रहार गरेपछि आत्मरक्षाका लागि लोली चलाउनुपरेको बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नागरिकको ज्यान जानेगरी घटना घट्नु दुखद भएको भन्दै घटनाको बिषयमा प्रदेश सरकारले पनि आन्तरिक रुपमा छानबिन गरिरहेको जानकारी गराए ।
घटनाको सत्य तथ्य छानबिन गर्ने र आगामि दिनमा त्यस्ता घटना दोहोरिन नदिनेतर्फ प्रदेश सरकार सचेत रहेको मन्त्री शर्माले बताए ।
संवाद समूह सचिवालय तुल्सीपूरका बरिष्ठ सहजकर्ता सुशिल बस्नेतको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।





