बुटवल,७ कार्तिक ।
बुटवल उपमहानगरपालिकाले सम्बन्धित निकायले समयमै कानून नबनाउदा बुटवलमा ई–रिक्सा व्यवस्थापन गर्न समस्या भएको जनाएको छ ।
बुटवल क्षेत्रमा एक हाजर १८ वटा मात्रै ई–रिक्सा सञ्चालनमा ल्याउने गरी कार्यविधि तयार पारे पनि प्रदेश सरकारले कानून नबनाउन कार्यान्वयनमा समस्या आएको उपमहानगरपालिकाको दाबी छ ।

उपमहानगरपालिकाद्धारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरका वित्त व्यवस्थापन महाशाखाका प्रमुख विष्णु प्रसाद खनालले बिगतमा रिक्सा व्यवस्थापन नजान्दा र गर्न नसक्दा हाल ई–रिक्सा व्यवस्थापन थप जटिल भएको बताए ।
पछिल्लो समय उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापन कार्य अगाडी बढाए पनि प्रदेश सरकारले आवश्यक कानून निर्माण नगर्दा थप समस्या भएको बताए ।
उपमहानगरले तयार पारेको कार्यविधिले दर्ता बाहेकका रिक्साहरुलाई सञ्चालनमा रोक लगाउँदै नियन्त्रणमा लिन नमिल्ने भएकाले ट्राफिक प्रहरी समन्वयमा संघीय कानून अनुसार जरिवाना गर्दै आएको उनको भनाई छ ।

उपमहानगरले हालसम्म ९ सय बढी ई–रिक्साहरुलाई दर्ता गर्नुका साथै आवश्यक नियमनका लागि यातायात कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरिएको प्रमुख खनालले उल्लेख गरे । बुटवल उपमहानगरमा दर्ता भएका रिक्सा व्यवसायीहरुले आइतबार उपमहानगरको कार्यालय घेराउ गर्दै हजार १८ को कार्यविधि लागू गर्न दबाब दिएका छन् । उपमहानगरले तयार पारेको कार्यविधि अनुसार दर्ता भई नियमित रुपमा सरकारलाई राजश्व बुझाउँदै आए पनि आफैले तयार पारेको कार्यविधि अनुसार उपमहानगर चल्न नसक्दा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।

दर्ता नभएका ई–रिक्साहरुलाई सञ्चालनमा रोक लगाउनु पर्ने तथा नियमानुसार दर्ता भएका रिक्साहरुलाई मात्र सञ्चालन हुन पाउने गरी कार्यविधि लागू गर्न उनीहरुले माग गरेका छन् । बुटवल उपमहानगर अघिको मुख्य सडकमै रिक्सा राखेर गरिएको विरोधका कारण दिनभर बुटवलको मूख्य बजार क्षेत्र नै प्रभावित भएको थियो ।

बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि– २०७६ तयार पारेर रिक्सा दर्ता गरे पनि कडाईका साथ पालन गर्न नसक्दा आन्दोलन चर्किएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमतिका काम अगाडि बढाइए पनि यस बाहेकका कानूनी जटिलताले समस्या भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपमहानगरको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यविधि अनुसार हजार अठार मात्रै रिक्सा सञ्चालन गर्ने कार्याविधिलाई ट्राफिक प्रहरीको सहयोगमा बिस्तारै कार्यान्वयनको तहमा लगिने उल्लेख गरे ।