बुटवल,७ कार्तिक । बुटवलको तामनगरमा एम्बुलेन्स र मोटरसाइकल ठाेक्किदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल शनिबार मध्ये राति बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गुल्मी स्थायी घर भएका तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलमा सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा राखिएको पाण्डेले बताए ।